काठमाडौँ ।
गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष राजेन्द्रकुमार( आरके) शर्मा नेतृत्वको कार्यसमितिले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।
कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा निवास धुमबाराहीमा आज भएको भेटमा सभापति देउवाले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा सभापति देउवाले सबैलाई मिलेर अघि बढ्न सुझाव दिनुभयो । भेटमा अध्यक्ष शर्माले आफू गैर आवासीय नेपाली संघको एकताको पक्षमा रहेको भन्दै नेपालका राजनीतिक दलहरुसँग सहकार्य गरी गैर आवासीय नेपालीको हक हितका लागि काम गर्न चाहेको बताउनुभयो ।
उहाँले आफू निर्वाचत अघि सारेका चुनावी घोषणा कार्यान्वयनमा प्रतिबद्धता जनाउनुभयो । नेपालमा लगानीका लागि आह्वान गर्नुहुँदै सभापति देउवाले मुलुकको समृद्धिमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्वअध्यक्ष कुल आचार्य,सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी,उपमहासचिव प्रविन गुरुङ,सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली,कोषाध्यक्ष ठाकुर ढुंगाना, एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी हुनुहुन्थ्यो ।
एनआरएनए अध्यक्ष नेतृत्वको टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।
आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । शर्माले अध्यक्षमा निर्वाचित भएपछि आइतबार प्रधानमन्त्री प्रचण्ड,पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहित मन्त्रीहरुलाई भेटे गरेर गैरआवासीय अभियानको बारेमा छलफल र अन्तरक्रिया गरेको थियो ।