लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके) को अध्यक्षमा मेजर योगेश कोयी राई चयन भएका छन् । मेजर राई बहाल किरात राई यायोख्खा बेलायतको अध्यक्ष समेत रहेका छन् l

नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा आइतबार तमु धीं भवन मिचेटमा भएको महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा मेजर योगेश कोयी राई, उपाध्यक्ष विमला राई, महासचिव फामबहादुर दुरा, सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।

सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजय लिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो ।

received_472888915318961-1718606257.jpeg

अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको थियो । अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल, अध्यक्ष कर्मा पहाडी शेर्पाले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि नेपाल राष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो । सँगै अहिलेसम्मका आदिवासी जनजाति आन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो ।

उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गरेकी थिइन् । त्यसपश्चात्’नेफिन युकेको डेढ दशक’ स्मारिका विमोचन गरिएको थियो । स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएको छ । यो स्मारिका पहिलो संस्करण हो । त्यसपछि कार्यक्रममा आमन्त्रित विभिन्न संघ र संस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

received_833360508235511-1718606309.jpeg

महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई, नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष जंग सुनुवार, तमु धीं युके अध्यक्ष हरि गुरूङ, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, निवर्तमान अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमा लिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघ संस्थाका प्रमुख, प्रतिनिधि, बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु, नेफिन युकेका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङलगायतको बाक्लो उपस्थिति थियो ।

उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँ कार्यसमिति घोषणा गरेका थिए । नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथ जिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरे ।

नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्र गुरुङ, सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । निर्वाचन समिति सदस्यमा निवर्तमान अध्यक्षहरू ले. श्रीप्रसाद लिम्बू, जंग सुनुवार, सल्लाहकार दुत पुन थिए । महाधिवेशनमा तमु धीं युकेको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।

received_1650238615749950-1718606461.jpeg

स्रोत – गोर्खा मिडिया बेलायत

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *