ब्रसेल्स l
गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि यूएईका ठाकुर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
यसै हप्ता नेपाल पत्रकार महासंघ युरोपको ८० औ सम्बाद शृंखलामा युरोपभरका पत्रकारहरूसंग भने अध्यक्षका उम्मेदवार आरके शर्माको २४ महिना २४ बाचामा समेटिएका प्रतिवद्धतामा आफ्ना एजेण्डा समेटिएको हुँदा शर्मालाई नै सहयोग गर्ने गरी कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको ढुंगानाले बताए ।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने–‘ अध्यक्षका उम्मेदवारले प्रस्तुत गर्नु भएका एजेण्डालाई अक्षरस कार्यान्वयन गर्न र संघको कोषलाई पारदर्शी बनाउन आफ्नो उम्मेदवारी रहने छ ।’
एनआरएनए अभियानमा विभिन्न पदमा काम गरेका ढुंगाना पर्यटन व्यवसायमा आवद्ध रहेर यूएईमा कर्म थलो बनाइरहेका छन ।
धादिङका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनी परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा हरदम साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छबी बनाएका उनी आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि गहिरो ज्ञान राख्छन ।

ब्रसेल्स l
उनी २०१७–१९ र १९–२१ मा आईसिसि सदस्य रहेर काम गरेकोमा २०१७–१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत उनले नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र बहाहरूको उत्प्रेरणाले यो उम्मेदवारी दिएको ढुंगानाले नेपाल पत्रकार महासंघ युरोपको ८० औ सम्बाद शृंखलामा युरोपभरका पत्रकारहरूसंग बताए ।
आईसिसिको अनुरोधमा २०२१–२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन सफल भएका थिए ।
उनलाई मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।
नेपालको आर्थिक उन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका डेलिगेटहरूसामु यो सन्देशलाई पुराईदिन तथा यस निर्वाचनमा आफूलाई जिताउन उनले सबै प्रतिनिधिहरूलाई हार्दिकतापूर्बक अनुरोध गरेका छन् ।