काठमाडौँ ।

नेपाल सरकारले नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । अब नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । 
गत बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् ।

 तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क बमोजिम स्वघोषणा गर्नुपर्ने छ । 
यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये जसको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्याक्षेत्र तोकिएको नेपाली दुतावास वा बाणिज्य दुतावासमा निवेदन दिएर नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि तोकिएका कागजपत्र आवश्यक पर्नेछ । यसरी नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दुतावासमा निवेदन दिएपछि दुतावासका कर्मचारीले १५ दिनभित्र अनिवार्य रुपमा रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने छ ।

 प्राप्त कागजातमा प्रमुख जिल्ला अधिकारी वा तोकेको अधिकारी अथवा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भएर सनाखत गर्नुपर्ने छ । नियमावली अनुसार गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिनसक्ने व्यवस्थाको लागि मन्त्रालयले आवश्यक प्रविधिको विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिने सक्ने प्रवन्ध मिलाउने सक्ने उल्लेख गरिएको छ । 

यस नियमावली अुनसार जारी गरिने नेपाली नागरिकताको प्रमाणपत्रमा महिला, पुरुष वा अन्य कुनैएक मध्ये लैङिगक पहिचान खुलाउनुपर्नेछ । नयाँ नियमावलीअनुसार नेपाली नागरिकता ऐन, २०६३ भन्ने शब्दहरू पछी ‘वंशजको नाताले’ भन्ने शब्द थपिएको छ भने नागरिकताको किसिम भन्ने शब्द भने हटाईएको छ । 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *