तमु ल्होसार बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित भब्य रूपमा मनाइएकोछ ।
तमु समाज बेल्जियमले डोनबोस्को काजाब्लांका, क्योसेल्लोमा आयोजना गरेको २६०८ औ गरूङ बर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रम सहित तमु नयाँ बर्षको शुभकामना साटासाट गर्दै मनाइएको हो ।
कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै बिभिन्न जातिय ,सामाजिक ,राजनैतिक र सामुदायिक संघ संस्थाहरुको सहभागिता रहेको थियो । विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरु एबम् बालबालिकाहरुको उपस्थितिले कार्यक्रम निकै मनमोहक र भब्य देखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, एनआरएन ग्लोबल महिला संयोजक अनुजा प्रधान, आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ , समाजका अग्रज अभिभाबक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङद्वारा बिशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउँदै आरम्भ भएको थियो ।
तमु ल्होसारको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभण्डारी साँस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रयासमा आफ्नो कला र संस्कृति झल्कने गरी आयोजना गरेको भब्य कार्यक्रममा सहभागि हुँदा खुशी लागेको बताउनु भयो ।
गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा,नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले तमु ल्होछारको शुभकामना दिनु भएको थियो ।
भाइचारा जातिय समाज अध्यक्ष विश्व मगर संघ लोक राना , शेर्पा समाज पेम्बा शेर्पा , तामांग समाज राम लामा , किरात राई सोसाईटी अध्यक्ष इन्दिरा चाम्लिङ्ग , पाशा पुच महासचिब सुर्य नारायण श्रेष्ठ त्यसैगरी एनआरएनए आईसीसी उपाध्यक्ष गंगाधर गौतम ,निवर्तमान ग्लोबल युवा ऊपाध्यक्ष हिमाल गुरूङ , एनआरएन आईसिसी महिला संयोजक अनुजा प्रधानलगायत नेदरल्यान्ड,जर्मनी , लक्जेम्बर्ग ,फ्रान्स ,पोर्चुगल ,माल्टा ,बेलायत लगायतबाट झन्डै १०० संघसंस्थाबाट कार्यक्रममा पाहुना र सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोश्रो अंक ‘आशिमाला-२’ र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रवासी’ले लेख्नु भएको गुरुङ भाषाको अन्य तीन भाषा( नेपाली,अंग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोष ‘नमस्ते’को बिमोचन गरिएको थियो । आशिमाला २ प्रकाशनको संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गर्नु भएकोछ ।
समारोह आयोजक समिति संयोजक नन्दराज घले र सहसंयोजक ओम प्रसाद तमुले कार्यक्रम ब्यवस्थापनमा सहयोग गर्ने र प्रायोजकहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाको तर्फबाट उपाध्यक्ष सुर्य गुरुङ र आमा समुहका प्रमुख मन्दरा गुरुङले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष गुरुङले तमु संस्कृति र संस्कारको बारेमा विवेचना गर्नु भएको थियो ।
समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरू, प्रायोजकहरू र सहयोगीहरु लगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यबाद दिदै मिलेर बसेको नेपाली समाजलाई बिभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्नु भयो ।
समाजका अध्यक्ष होम गुरूङको सभापतित्वमा भएको ल्होछार कार्यक्रमको संचालन महासचिव चित्रजङ गुरुङ, सचिब उमा गुरुङ र साँस्कृतिक कार्यक्रमको सञ्चालन रिचा गुरुङले गर्नु भएको थियो ।
गायक दुर्गा गुरुङ ,नारायण धिताल, र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले बिबिध प्रस्तुती दिएको कार्यक्रममा बिभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थिए ।