सन् २००३ मा राजेन्द्रकुमार (आरके शर्मा) लाई कतारको राजधानी दोहामा पैसा उठाउन आउनुपर्ने काम आइलाग्यो । बागलुङको सुखौरा गाउँमा जन्मिएका शर्मा त्यसबेला भारतको राजधानी नयाँदिल्लीको एउटा ट्राभल एजेन्सीमा काम गर्दथे । र, सोही कम्पनीको पैसा उठाउने कामले उनलाई दोहासम्म डाेर्याएर ल्याएको थियो ।
सन् १९९९ तिर पढ्ने र जागिर गर्ने उद्देश्यले नयाँदिल्ली पुगेका उनले त्यहाँ एउटा ट्राभल कम्पनीमा काम गर्दैगर्दा सोही कम्पनीको केही हिस्सा शेयर समेत लिन सफल भएका थिए । सोही कम्पनीको कामले दोहा आउने अवसर जुरेको थियो ।
शर्मा कतार आइपुगेको यो त्यही समय थियो, जुन समयमा कतारमा विकासको लहर चलिरहेको थियो । सन् १९९० मा सुरु भएको ग्लोबलाइजेसनको लहरले कतारले प्राकृतिक स्रोतलाई उपभोग गरेर विकासको गति बढाउँदै थियो । शहरहरु धमाधम आधुनिकतातर्फ परिवर्तन हुँदै थिए भने निर्माणका काम तीव्र गतीमा हुँदै थियो । जीवनशैलीमा ब्यापक परिवर्तनको त्यो सुरुवाती समय थियो ।

जुन उद्देश्यले उनी २० वर्षअघि उनी यहाँ आएका थिए त्यो उद्देश्य त आजसम्म पनि पूरा भएको छैन । अर्थात् पैसा उठाउने काम त आजसम्म पूरा भएको छैन भन्छन् शर्मा ।
“ट्राभल कम्पनीको पैसा उठाउने जुन उद्देश्यले नयाँदिल्लीबाट यहाँ आएको थिएँ, त्यो अहिलेसम्म पूरा भएको छैन”, शर्माले विगत सम्झिए, “सायद त्यो बेला पैसा उठेको भए भारत नै फर्किसक्थे होला, त्यो बेलामा केही दिनका दोहा आएको मेरा २० वर्ष बितिसकेको छ ।”
पैसा लिनुपर्ने मान्छे नभेटिएपछि शर्माले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टका रुपमा जागिर सुरु गरे । उनले काम गर्ने कम्पनी कतारी र भारतीय नागरिक मिलेर स्थापना गरेका थिए ।
विदेशी नागरिकले यहाँ व्यवसाय गर्नका लागि कतारी नागरिकले स्पोन्सर गर्नुपर्ने नियम छ । तर केही समयपछि भारतीय लगानीकर्ताले कम्पनी छाडेपछि त्यो ठाउँमा शर्माले लिए । फलस्वरुप सोही कम्पनीमा उनी सन् २००४ मा लगानीकर्ताको हैसियतमा पुगे । र, यसरी कतारमा उनको उद्यमशीलताको पहिलो बीउ रोप्न सफल भए ।
करिब दुई दशकमा कतारको विकासको नयाँ आयम खडा गरेको छ । कतारको विकासलाई नजिकैबाट अनुभव गरेका शर्माले पनि यसबीच व्यवसायको बलियो जग भने हाल्न सफल भएका छन् । जसको हाँगा देश विदेशसम्म फैलिएको छ । कतारमा आफ्नो छुट्टै व्यावसायिक साम्राज्य खडा गर्न भने सफल भएका उनी हाल यहाँका सफल नेपाली व्यवसायीमा औँलामा गनिन्छन् ।

शर्माको व्यवसाय बिस्तार पिजन इन्जिनियरिङदेखि सेक्युरिटी कम्पनीसम्म फैलिएको छ । कतारभन्दा बाहिरी देशमा पनि पुगेको छ । जसले हालसम्म हजारौं मानिसलाई रोजगारी दिइसकेको छ ।
आफूलाई बुवाले जागिर खानेभन्दा पनि उद्यमी बन्नुपर्छ भन्दै सानैमा सिकाएको स्मरण गर्दै उनले भने, “बाल्यकालमा बागलुङमा छँदा मेलापर्वमा फलफूलहरु बिक्री गर्दथे, बुवाले पनि सधैभरी आफ्नै इलम गर्नुपर्छ भन्दै प्रेरणा हुन्थ्यो । सायद त्यसैले होला विदेशमा आएर पनि उद्यममै रमाउन सकेको छुँ ।”
मध्यमवर्गिय शर्माको परिवार सन् १९९० तिर बागलुङबाट तराई झ¥यो । बागलुङको सुखौरा गाउँ त्यो बेला निकै दुर्गम मानिन्थ्यो । तराई झरेको परिवारले तत्कालीन समयमा सञ्चालन गरेको ‘दोकान’ आफ्नो व्यावसायिक जीवनको पहिलो पाठशाला भएको शर्माको बुझाइ छ ।
कतारको आधुनिक विकासलाई नजिकैबाट अनुभव गरेका शर्माले सन् २०२२ मा कतारमा सम्पन्न फिफा विश्वकप फूटबल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा कम्पनीमार्फत ठूलो योगदान दिएका छन् ।
विश्वभर कतारका लागि प्रतिष्ठा बनेको विश्वकप फूटबल प्रतियोगितालाई सफल बनाउन उनको कम्पनी पिजन इन्जिनियरिङको पनि योगदान रहेको उनको भनाइ छ ।

“हाम्रो कम्पनीले यहाँका धेरै प्रमुख निर्माण आयोजनमा काम गरिरहेको छ, विश्वकप प्रतियोगिताका धेरै परियोजनामा काम गर्ने मौका पाएको छ”, उनले भन्नुभयो ।
शर्माको यस कम्पनीमा कुनै समय एकैपटक ५ हजारभन्दा बढीले काम गर्दथे भने अहिले पनि कम्पनीमा १ हजारभन्दा कर्मचारी कार्यरत छन् । निर्माण क्षेत्रसँग सम्बन्धित काम भएको हुँदा परियोजनाअनुसार काम गर्नेको संख्या घट्ने र बढ्ने क्रम चलिरहने शर्माको भनाइ छ । “मेरो कम्पनीमा जोडिएका एक हजारभन्दा बढीको परिवारको जिम्मेवारी पनि मेरै काँधमा आइपुगेको छ,” शर्माले भने ।
शर्माको व्यावसायिक यात्रा कतारको विकाससँगै अगाडि बढेको देखिन्छ । पछिल्ला २० वर्षमा जसरी कतारले विकासमा नयाँ आयाम थप्दै थियो, त्यसरी नै शर्माले पनि व्यवसायमा इँटा थप्दै आजको अवस्थामा आइपुगेका छन् । शर्माको व्यापार राजधानी दोहामा मात्रै सीमित नभइ नेपालदेखि अमेरिकासम्म फैलिएको छ ।
नेपालमा डुब्न लागेको जनरल फाइनान्स (बेस्ट) किनेर सफलताका साथ सञ्चालन गर्न शर्मा र उनको समूहको ठूलो भूमिका छ । “जनरल फाइनान्समा देखिएको समस्याले कम्पनी खारेजीमा जाने स्थितिमा थियो, निक्षेपकर्तामा आफ्नो पैसा फिर्ता आउँदैन कि भन्ने चिन्ता थियो,” शर्माले भने, “हाम्रो व्यवस्थापनमा आइसकेपछि फाइनान्सलाई खारेजी हुनबाट बचाएर आजका दिनमा लगानीकर्तालाई लांभाश दिने अवस्थामा ल्याएका छौँ ।”
शर्माले पाल्पाको सत्यवती केवलकारका साथै केही जलविद्युत् परियोजनामा सामूहिक लगानी गरेका छन् । लगानीका लागि अन्य परियोजनाको अध्ययन भइरहेको उनको भनाइ छ ।
एनसीसीदेखि आइसीसीको उपाध्यक्षसम्म गैरआवासीय अभियानको यात्रा
कतारलाई आफ्नो कर्मथलो बनाएका शर्मा गैरआवसीय नेपाली अभियानमा सन् २००६ देखि सक्रिय छन् । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,कतारमा सल्लाहकार, हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य र मध्यपूर्व संयोजक सचिव हुँदै अहिले उपाध्यक्ष भएका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै संघको नेतृत्व गर्ने योजनामा छन् ।
गैरआवासीय अभियानको नेतृत्व आफूले पाउनेमा विश्वस्त रहेका शर्मा नेपालमा रेमिट्यान्स बढी पठाउनेमा मध्यपूर्व, मलेसिया तथा कोरियामा बस्ने नेपाली रहेको भन्दै उनीहरुलाई लक्षित गरी सामूहिक लगानी कोषको प्राधिकरण सञ्चालन गर्ने योजना बनाएका छन् ।

अहिले वार्षिक औसत १३ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । जसमध्ये ७० प्रतिशत रकम उपभोगमा हुने गरेको भन्दै शर्माले त्यसको १० प्रतिशत अर्थात एक खर्ब ३० अर्ब रुपैयाँ सरकारको अग्रसरतामा विभिन्न परियोजनामा लगानी गर्न सकिने बताउँछन् । सरकारले न्यूनतम प्रतिफलको ग्यारेन्टी लिने गरी त्यस्तो रकम जलविद्युत्लगायतका विकासका आयोजनामा लगानी गर्न सकिने उनको योजना छ ।
सन् २००३ बाट शुरु भएको गैरआवासीय अभियानमा पछिल्ला केही वर्षयता विवाद बढ्न थालेको देखिन्छ । चार वर्षअघि काठमाडौँको हायात होटलमा भएको सम्मेलनमा झडपकै अवस्था आइपुगेको थियो । मतभेदबीच दुई वर्षअघि सहमतीय आधारमा तीन जना अध्यक्ष बनेका थिए । तर उक्त प्रयासले पनि एकीकृत हुन नसकेको अभियान हालैमात्र एकीकृत भएको छ ।
“गैरआवासीय अभियानले आजसम्म सामाजिक मुद्दामा बढी केन्द्रित भयो भने यसलाई यो अभियान नेपालको आर्थिक विकासलाई प्राथमिकतामा राखी अगाडि बढ्ने समय आएको छ”, शर्माले भने ।
