स्वप्निल स्मृति

तिमी आफूलाई जे मानिरहेछौ
त्यो तिमी नै हो, मानेँ
तिमी मलाई जे मानिरहेछौ
तर म त्यो होइन
अकण्टक आफूलाई महान मानिरहेको तिमी
मेरो लागि फगत् हत्यारा,
तिमीले नै गरेको हो सर्वप्रथम मेरो नामको हत्या
म को हुँ ? मैले यति चाँडै बिर्सी सकेको छैन मलाई
तर तिमी इतिहासको हिरासतमा
असङ्गत फरेबका कोर्रा बर्साइरहेछौ
तर म त्यस्तो होइन ।

तिमी जन्मनुअघि पनि म जिउँदै थिएँ
तिम्रो मृत्युपछि पनि म जिउँदै हुनेछु
जुन तिम्रो कमजोरी वा मेरो महानता होइन
यदि यही सत्य नै तिमीलाई जोखिम भएको हो त
तिम्रो हिँस्रक मस्तिष्कलाई सोच्न स्थगन गर !
तिम्रो हिँस्रक विचारलाई पूरापूरा संसोधन गर !!
मभित्र तिमी छौ यसको अर्थ तिमीभित्र म छु हैन
के भनेको तिमीले तिम्रो शास्त्रमा म भेटिएँ, झुट् हो
के झेल गरेको तिमीले तिम्रो वंशावली तिम्रो इतिहासमा म छु,
झुट् हो
तिमी ठट्टा गर्दै नगर म तिम्रो ईश्वर हुँ
तिम्रो ईश्वर तिमीभन्दा पनि कान्छो हो ।

यति हो तिमीजस्तो म सुखको तिर्खामा संसार नडुलेको हुँला
दुःखको कुवा यहीँ खने हुँला
तिमी तिम्रो ईश्वर घोडा चढेर भोग खोज्दै आएको म जान्दछु
के म मेरो आत्मसम्मानलाई भोग चढाउँm ?
तिमी चाहन्छौ सर्वस्व जित्न म सर्वस्व हारौँ
तर मै सर्वस्व जितौँ र तिमी सर्वस्व हार
अहँ सोच्न पनि सक्दिन ।

तिमी मलाई जे मानिरहेछौ
म त्यो होइन
तिमी आफूलाई जे मानिरहेछौ
त्यो तिमी नै हो, मानेँ
यी चरा, यी बुट्यान, यी किटपतङ्गलाई थाहा छ
तिम्रो आगमनको मिति
तिम्रो प्रस्थानको ठेगाना
तिम्रो रजगजको बृत्तान्त ।

यी बुर्धुङ्गे पहाडलाई अँगालो मार्यौ र मेरो हो भन्यौ
यी नाङ्गेभुतुङ्गे हिमाललाई सुहाएकै थियो
किन भद्दा दाउरासुरुवाल लगाई दियौ ?
यी सुन्दर फाँट तिमी नभए पनि सुन्दर नै थिए
तर सुन्दर भनेर कुरुप त बनाएनौ ?
तिमीले जहाँजहाँ जस्तोजस्तो शब्द फुलायौ
त्यहाँत्यहाँ सुहाउँछ त्यसको सुगन्ध
आयातीत तिम्रा नाम, उपनाम र विशेषणको कलङ्क अस्विकार छ
तिमी ममा शब्दको क्षेप्याष्त्र दागेर
मेरो पहिचान, मेरो स्वाभिमान, मेरो सभ्यतालाई आक्रमण नगर
तिमी मलाई जे सम्झिरहेछौ
म त्यो हैन
त्यो शब्द मेरो शब्दकोशमै छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *