काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा खगेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उनले अध्यक्षका बलिया प्रत्यासी आरके शर्माको टीमबाट आइतबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा लालसिंह खड्का र बिक्रम घिमिरे रहेका छन् भने समर्थकमा चित्र सुवेदी रहेका छन् ।
उनलाई उम्मेदवारी दर्तालगत्तै उपस्थित सबैले शुभकामना दिएका थिए । न्यौपानेलाई उम्मेदवारी दर्तापछि एनआरएनए मुख्यालयमै रहेका अभियन्ताले शुभकामना दिएका थिए। जसले एनआरएनएभित्र सौहार्दपूर्ण वातावरणमा चुनावी प्रक्रिया अघि बढिरहेको संकेत गर्ने अभियन्ताहरु बताउँछन् । एनआरएनएको मनोनयन दर्ताको समय सोमबारसम्म रहेको छ ।
न्यौपाने उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । न्यौपाने उपाध्यक्ष पदका बलियो प्रत्यासीका रुपमा हेरिएका छन् । न्यौपानेले एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आइसिसी सदस्य, एसिया प्यासिफिक सह–संयोजक भएर संस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । न्यौपानेले मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौँ नेपालीहरूको मुद्दा उठाउन, उनीहरूको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैँको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।
मलेसिया र नेपालका सफल व्यवसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाइड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन् ।
न्यौपानेले मध्यपूर्व कतारबाट आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा समेत गरिसकेका छन् । एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार पुगेका सचिव न्यौपानेले मध्यपूर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेन्डालाई स्थापित गराउनका लागि आरके शर्मासँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।